जनकपुरधाम । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जनअपेक्षाकृत नै आउने मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले बताउनुभयो
अर्थ मन्त्रालयद्वारा आयोजित पूर्वबजेट सम्बन्धी छलफल कार्यक्रममा मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेट जनताले चाहेको र अपेक्षा गरे अनुसार नै आउने बताउदै उहाँले सोही अनुरुप नीति तथा कार्यक्रम पनि तयार भइरहेको जानकारी गराउनुभयो ।‘जनताका अपेक्षा छन्, जनताले आम विषय ठिक भइदिए भन्ने चाहेका छन्, हामीले जनताले चाहेका कुरा नै पूरा गर्नुपर्छ,’ उहाँले बताउनुभयो ।
प्रदेशको जनताको प्राथमिकतालाई मध्यनजर गरेरै बजेट ल्याउनु नै आफ्नो उत्तरदायित्व रहेको अर्थमन्त्री यादवले बताउदै सीमित स्रोत, साधनका बाबजुद प्रदेश सरकारप्रति जनताको धेरै अपेक्षा रहेको टिपप्णी गर्नुभयो । उहाँले यस वर्षको बजेटमा जनताका आवश्यकता र अपेक्षालाई मुख्य प्राथमिकतामा राखिने दाबी समेत गर्नुभयो ।

प्रदेश सरकारले मधेस प्रदेशका ८ वटै जिल्लाका हरेक वडामा देखिने गरी बजेटको व्यवस्था गर्ने उहाँको भनाइ रहेको थियो छ ।
कार्यक्रममा सहभागी सांसद र प्रतिनिधिहरुले बजेटमा अनावश्यक कुरा समेटिनुभन्दा पनि खर्च दर बढाउन सुझाव दिएका थिए । साथै, पछिल्लो समय भुक्तानीका विषयहरु विवादित बन्दै गएको भन्दै सहभागीहरुले त्यसलाई व्यवस्थित गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा मधेस प्रदेशका सांसद, प्रदेश सरकार मातहत निकायका पदाधिकारी र नीति आयोगका पदाधिकारीहरुको उपस्थिति थियो ।


