सर्लाही,पुस २१
हिन्दु पत्रकारहरूको छुट्टै सङ्गठनका रूपमा पर्साको वीरगंजमा गठन गरिएको हिन्दु पत्रकार संघ नेपालको पहिलो जिल्ला शाखा गठन गरिएको छ। सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा एक भब्य समारोहका बीच संघको पहिलो शाखा गठन गरिएको हो। हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारितामार्फत हिन्दु समुदायको अधिकार र आवाजलाई मजबुत बनाउने उद्देश्यका साथ सर्लाहीमा मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ।
मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी प्यालेसमा आयोजित घोषणा सभाबाट अध्यक्ष यादवसहित उपाध्यक्षमा प्रेमनाथ पौडेल ,जितेन्द्र कुशवाहा, सचिवमा संतोष कर्ण,स-सचिवमा संजय गुप्ता , कोषाध्यक्षमा संतोष कुमार यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा मनिषा कुशवाहा,चन्दन मिश्रा, सुनिल राय,अमृता मुखिया ,जितेश कुमार यादव,राम झा,सुभाष मण्डल र विवेक यादव रहेका छन् ।
नवगठित संघका जिल्ला अध्यक्ष यादवले हिन्दु धर्ममाथि हुने प्रहारको विरोध गर्दै सनातन मूल्य-मान्यताको रक्षा गर्नु संघको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहले हिन्दु पत्रकार संघ नेपालको गठनलाई स्वागत गर्दै यसले पत्रकारिताको विविधतालाई थप मजबुत बनाउने र सनातन मूल्यहरूको संरक्षणमा योगदान पुग्ने कुरामा जोड दिएका थिए। साथै उनले हिन्दु संस्कृतिको संरक्षणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नवगठित संघका पदाधिकारीहरुलाई शुभकामना दिएका थिए।
कार्यक्रममा उपस्थित हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा यादवले संघको स्थापनालाई ऐतिहासिक कदमको रूपमा वर्णन गर्दै यसले पत्रकारहरूबीच एकता र हिन्दु धर्मको संरक्षणमा योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता गरेका संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले पत्रकारिताको मर्यादा कायम राख्दै हिन्दु धर्म र संस्कृतिको संरक्षणमा संघले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा संघका केन्द्रीय सचिव राजकुमार सर्राफ ,केन्द्रीय सल्लाहकार एस.के चौरसिया,केन्द्रीय सदस्य कन्हैया पटेल,संजय प्रसाद कुशवाहा,मिडिया काउन्सिल मधेश प्रदेशका सदस्य बन्दना झा, हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा यादव,राष्ट्रिय बजरंग दलका धिरेन्द्र मिश्र ,मलंगवा नगर संरक्षण तथा सुधार समितिका अध्यक्ष चन्दन सिंह,एकल विद्यालय अभियान सर्लाहीका अध्यक्ष बद्री नारायण मिश्र विभिन्न संघसंस्थाका प्रतिनिधि , पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

