सिरहा/सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा छानबिन गर्न मंगलबार पूर्व गृह राज्य मन्त्री तथा संविधान सभा सदस्य एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी नेतृत्वको टोली घटनास्थल पुगेको छ। उक्त टोलीमा विभिन्न राजनीतिक दलका नेताहरू, सामाजिक अभियन्ताहरू तथा अधिकारकर्मीहरू सहभागी थिए।
पूर्व गृह राज्य मन्त्री अन्सारीले जिल्लाका प्रशासनिक निकायहरू, विशेष गरी प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी) लाई कुनै दबाब वा प्रलोभनमा नपरी निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन्। उनले भने, “हामीले गाउँमा पुगेर स्थानीयबासी तथा पीडित परिवारसँग संवाद गर्दा यो घटना सामूहिक बलात्कार तथा योजनाबद्ध हत्या भएको देखिन्छ। यदि दोषीहरूलाई कानुनी दायरामा ल्याउने कार्यमा कुनै पनि ढिलाइ भयो भने सडक आन्दोलन गर्न बाध्य हुनेछौं।”

नेपाल मानव अधिकार आयोगको २०८० को प्रतिवेदन अनुसार, पछिल्ला तीन वर्षमा दलित समुदायमाथि हुने हिंसा ४०% ले वृद्धि भएको छ। यस अवस्थामा जातीय भेदभावविरुद्ध बनेका कानूनहरूको कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको देखिन्छ।
मधेश प्रदेश सरकारका पूर्व गृह, संचार तथा कानून मन्त्री विमला अन्सारी पनि पीडित परिवारलाई भेट्न घटनास्थल पुगेकी थिइन्। उनले भनिन्, “महिला भएकाले मैले यो पिडा महसुस गर्न सक्छु। किनकि म आफैं पनि छोरीकी आमा हुँ। यो विषय प्रदेश सभामा उठाउनेछु।”
उनले पीडित परिवारलाई ढुक्क हुन आग्रह गर्दै भनिन्, “दलित समुदायका छोरीहरू पनि अरूका छोरीजस्तै समान सुरक्षा र न्यायको हकदार छन्। हामी सदनमा समेत यो मुद्दा उठाएर न्याय सुनिश्चित गर्नेछौं।”

सर्लाहीका सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय विवाह प्रकरणमा सक्रिय प्रहरी प्रशासनले रिंकुको घटनामा अझै कसैलाई पक्राउ नगर्नु आपत्तिजनक रहेको बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवानले बताए। उनले मंगलबार राति इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी विष्णु प्रसाद सोतीलाई भेटेर घटनाको गम्भीर छानबिन गर्न आग्रह गरेका थिए। “समयमै न्याय नदिए सडकदेखि सदनसम्म संघर्ष हुनेछ,” उनले चेतावनी दिए।
दलित अभियन्ता राम सुफल सदाले सामाजिक सञ्जालमा लेख्दै प्रहरी प्रशासनमाथि आक्रोश व्यक्त गरेका छन्। उनले लेखे, “चुनावका बेला भोट माग्न खेत-खलिहान र घर-घर पुग्ने नेताहरू किन मौन छन्? किन अहिलेसम्म एक जनालाई पनि सोधपुछका लागि प्रहरीले बोलाएको छैन?”
उनले थपे, “घटनाका दोषीहरू फरार छन् भने, उल्टै भगवतीपुर मुसहरी टोलका पुरुषहरू गवाही दिने डरले गाउँ छोड्न बाध्य भएका छन्। यसरी दलित समुदायले न्याय कसरी पाउने?”
रिंकु २६ माघको राति करिब ९ बजे शौच गर्न बाहिर गएकी थिइन्, तर ६ घण्टासम्म घर फर्किनन्। भोलिपल्ट बिहान ३ बजे उनलाई घरबाहिर रोइरहेको अवस्थामा फेला पारिएको थियो। त्यसपछि उनले परिवारलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल, र चन्दन साहेलाले बलात्कार गरेको बताएकी थिइन्।
घटना बाहिर आएपछि २९ माघमा गाउँमा पञ्चायती बसेको थियो। पञ्चायतीमा रकमको बार्गेनिङसमेत भएको प्रमाण प्रहरीले फेला पारेको छ। तर, ३० माघको राति ७:२० बजे रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिइन्।
घटना अनुसन्धानका लागि सिरहा जिल्ला प्रहरी कार्यालय तथा एसएसपी कोइरालाको टोली सक्रिय रहेको छ। प्रहरीले पञ्चायती बस्ने अधिकांश व्यक्ति फरार रहेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, बलात्कार घटना दबाउन आर्थिक बार्गेनिङसमेत भएको पुष्टि भएको छ।
रिंकु सदाय प्रकरणले फेरि एक पटक नेपालमा जातीय विभेद, महिला हिंसा, र न्याय प्रणालीको कमजोरीलाई उजागर गरेको छ। दोषीहरूलाई कानुनी दायरामा ल्याउन सबै पक्षबाट दबाब बढ्दै गएको छ। पीडित परिवारले निष्पक्ष छानबिन र न्यायको माग गरिरहेका छन्। यदि प्रहरी प्रशासनले ढिलाइ गर्यो भने, यो विषय सामाजिक तथा राजनीतिक आन्दोलनको रूपमा अगाडि बढ्न सक्ने देखिन्छ।

