मलंगवा नगरपालिका, राजश्री सेभिङ एण्ड कोअपरेटिभ, मेडिकेयर हस्पिटल तथा नेपाल हर्ट फाउन्डेसनको प्राविधिक सहयोगमा मलंगवामा दुई दिने निःशुल्क मुटुरोग शिविर सञ्चालन भइरहेको छ। फागुन ९ र १० गते सञ्चालन हुने यस शिविरमा मुटु रोगीहरूले आफ्नो मुटुको स्वास्थ्य परीक्षण गराउन सक्नेछन्।
नेपालका वरिष्ठ मुटु रोग विशेषज्ञहरू तथा अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग गरी चेकअप प्रदान गरिने भएको हुँदा, पुराना तथा अज्ञात मुटु समस्याका बिरामीहरूलाई शिविरसम्म पुर्याउन समाजसेवीहरूको सहयोग आवश्यक रहेको डाक्टर प्रकाश राज रेग्मीले बताएका छन्।

मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले नगरपालिकाको लगानीमा जनतालाई उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यस शिविरको आयोजना गरिएको जानकारी गराएका छन्। शिविर उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरू, स्वास्थ्यकर्मीहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
नगरवासीहरूका लागि अत्यन्तै लाभदायक हुने यो शिविरले धेरैलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।


