सर्लाही/ प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ। सो क्षेत्रका उम्मेदवारले केही स्थानीय नेताहरूको गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाउँदै “समीक्षा बैठक” को नाममा भइरहेको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
सर्लाही क्षेत्र नं. २ का उम्मेदवार तथा नेपाली काँग्रेस सर्लाहीका कार्यवाहक सभापति सराेज यादवले आफूलाई जानकारी नै नदिई समीक्षा बैठक आयोजना गरिएको उल्लेख गर्दै यसलाई “नयाँ राजनीतिक प्रवृत्ति” का रूपमा टिप्पणी गरेका छन्। उनले जमिनस्तरमा प्रभावहीन नेताहरूले आफूलाई “धरातलीय नेतृत्व” दाबी गर्नु विरोधाभासपूर्ण भएको बताएका छन्।
का.वा. सभापति यादवका अनुसार आफ्नो-आफ्नो वडा र पालिकामा मत जोगाउन नसक्ने नेताहरूले चुनावपछिको समीक्षा गर्ने नैतिक आधार गुमाइसकेको बताए । सर्लाही निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका सबै सात पालिका प्रमुख/अध्यक्ष तथा दुवै प्रदेश सांसद नेपाली कांग्रेसकै हुँदा पनि अपेक्षित परिणाम नआउनु संयोग मात्र नभई योजनाबद्ध हुनसक्ने आशंका समेत उनले व्यक्त गरेका छन्।
सभापति यादवले जनतामा देखिएको असन्तुष्टि वा व्यक्तिगत स्वार्थका कारण उम्मेदवारलाई हराउने प्रयास भएको हो भन्ने विषय अब तथ्यांकबाट प्रष्ट हुने दाबी गरेका छन्। “अब उत्तर भाषणले होइन, डाटाले दिनेछ,” उनले भने।

नैतिकताको प्रसंग उठाउँदै उनले केन्द्रीय नेतृत्वले जिम्मेवारी लिँदै राजीनामा दिएको उल्लेख गर्दै क्षेत्रीय तहका नेताहरूमा त्यस्तो जिम्मेवारीबोध नदेखिएको टिप्पणी समेत गरेका छन्।
यादवले आफूले विस्तृत प्रतिवेदन पार्टीमा बुझाइसकेको जानकारी दिँदै चुनावअघि सबैलाई समेट्ने प्रयास गरिए पनि चुनावपछिका गतिविधिले सत्य तथ्य बाहिर ल्याउन बाध्य बनाएको बताउदै पार्टीभित्रै बसेर विपक्षीलाई सहयोग गर्ने व्यक्तिहरूको पहिचान र मूल्यांकन हुने विश्वास व्यक्त गरेका छन्।
उनले सम्बन्धित वडाहरूमा क्रियाशील सदस्य संख्या र प्राप्त मतको तथ्यांकसमेत संलग्न गरिएको जनाउँदै पार्टी कार्यकर्ताहरूलाई उम्मेदवार तथा कार्यवाहक सभापतिको अनुपस्थितिमा हुने कुनै पनि “समीक्षा बैठक” मा सहभागी नहुन आग्रह गरेका छन्।
उम्मेदवारले वर्तमान गतिविधिलाई “समीक्षा भन्दा बढी समीक्षा नाटक” को संज्ञा दिएका छन्।

