सर्लाही । नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले काैडेना गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ।
कार्यक्रममा शान्ति सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रण, लागू औषध दुर्व्यसन नियन्त्रण, तथा स्थानीय तहबाट प्रवाह हुने सेवाहरूलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले सेवा प्रवाहमा देखिएका समस्या, समाधानका उपाय तथा प्रशासन–जनप्रतिनिधिबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।
अन्तरक्रियाका क्रममा नागरिकता सिफारिस प्रक्रियालाई झन्झटरहित बनाउने उद्देश्यले आवश्यक कागजातहरूको स्पष्ट चेकलिस्ट तयार गरी वडा अध्यक्षहरूलाई उपलब्ध गराइएको छ। वडा कार्यालयबाटै आवश्यक सबै कागजात पठाउने व्यवस्था मिलाए सेवाग्राहीलाई पटक–पटक फर्किनु नपर्ने भएकाले सेवा प्रवाह अझ सहज हुनेमा जोड दिइएको थियो।
कार्यक्रमले स्थानीय तह र जिल्ला प्रशासनबीच समन्वय बढाई नागरिकमुखी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षता तथा काैडेना गाउँपालिकाका अध्यक्ष रूपेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, वडा सचिवहरू, पालिकाका कर्मचारीहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

