पार्टीभित्रको गुटबन्दी र उपेक्षाले थाकेका नेता अन्ततः बाहिरिए
सर्लाही, २०८२ साउन १८ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) सर्लाहीका जिल्ला उपाध्यक्ष गणेश कुमार यादवले पार्टीको सबै पद र साधारण सदस्यता समेतबाट राजीनामा दिएका छन्। लामो समयदेखि मधेश आन्दोलनमा सक्रिय रहँदै आएको उल्लेख गर्दै यादवले पार्टीभित्र बढ्दो गुटबन्दी, अवसरवाद र नेतृत्वको उपेक्षाका कारण आफू निराश भएको जनाएका छन्।
राजीनामा पत्रमार्फत यादवले मधेशी जन अधिकार फोरम, नेपालको स्थापना कालदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको, २०६३ को ऐतिहासिक मधेश जनविद्रोहदेखि हालसम्म विभिन्न रुपान्तरण हुँदै आएको पार्टीहरूको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गराएका छन्।
उनले दुईपटकको संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ सालको निर्वाचनमा निरन्तर टिकटका लागि प्रयास गरे पनि पार्टीले अवसर दिनुको सट्टा अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।
यादवले भने, “पार्टीको जिम्मेवार र अनुशासित कार्यकर्ता हुँदाहुँदै पनि मलाई कहिल्यै मूल्यांकन गरिएन। पटक–पटक अवसरबाट बञ्चित गरियो तर म पार्टीप्रति समर्पित रहे।”
जिल्ला अध्यक्षको राजीनापछि प्रथम उपाध्यक्षको हैसियतले नेतृत्व गर्नुपर्ने मागसमेतकाे बेवास्ता गरिएको आरोप लगाउँदै उनले जिल्लामा पार्टी संगठन नै विघटन गरिएपछि आफू राजनैतिक भविष्य अध्यारो देखिएको बताएका छन्।
राजीनामा पत्रको अन्त्यमा उनले आफ्नो राजनैतिक यात्रामा साथ दिने सम्पूर्ण व्यक्तिहरुप्रति आभार व्यक्त गरे ।
पार्टी नेतृत्वले यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

