जनकपुरधाम, पुस ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न २८ बुँदे मागहरू अघि सार्दै सुरु गरेको चरणबद्ध आन्दोलन अन्तर्गत पुस १४ गते जनकपुरधाममा बृहत् विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने भएको छ।
सप्तरीदेखि सर्लाहीसम्मका पाँच जिल्लालाई केन्द्रमा राखेर जनकपुरधाममा आयोजना हुने उक्त कार्यक्रमका लागि जसपा नेपालले तयारीलाई तीव्र बनाएको छ। आज जनकपुरधाममा केन्द्रीय महासचिव रामकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समिति गठन गरेको छ। बैठकले जनकपुरधामको तिरहुतिया गाछीमा विरोध सभा आयोजना गर्ने निर्णय पनि गरेको छ।
बैठकबाट जनपरिचालन समिति, मञ्च व्यवस्थापन तथा प्रचार–प्रसार समिति, आर्थिक व्यवस्थापन समिति, युवा परिचालन समिति र अनुगमन समिति गठन गरिएको छ।
केन्द्रीय उपमहासचिव दीपक कार्कीको अध्यक्षतामा गठित जनपरिचालन समितिमा पाँचवटै जिल्लाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूलाई समेटिएको छ। यस्तै, जीतेन्द्र कुमार यादवको अध्यक्षतामा गठित मञ्च व्यवस्थापन तथा प्रचार–प्रसार समितिमा ज्ञानेन्द्र कुमार यादव, पशुपति यादव, चमेली देवी दास, श्यामकुमार यादव, दीपेन्द्र कुमार कापडी र बलिराम कापडी सदस्य रहेका छन्।
केन्द्रीय कोषाध्यक्ष सुरिता कुमारी साहको अध्यक्षतामा गठित आर्थिक व्यवस्थापन समितिमा डा. सुरेन्द्र यादव, प्रदेश कोषाध्यक्ष विष्णु कुमार साह, राजकुमार गुप्ता र डा. बबी सिंह सदस्य रहेका छन्।
यसैगरी, विन्देश्वर यादव (विक्की) को संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ, जसमा युवा तथा विद्यार्थीका प्रदेश अध्यक्षहरू र पाँचवटै जिल्लाका युवा तथा विद्यार्थी जिल्ला अध्यक्षहरू समावेश छन्। बैठकले हरिनारायण यादवको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ, जसमा लालकिशोर साह र नागेन्द्र यादव सदस्य रहेका छन्।
प्रचार–प्रसार उपसमितिका संयोजक जीतेन्द्र यादवले आन्दोलनलाई सफल बनाउन सबै पक्षलाई जिम्मेवारीसाथ परिचालित गरिएको जानकारी दिए। जसपा नेपालले संविधान संशोधनलगायतका आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

