मलंगवा, सर्लाही – सदरमुकाम मलंगवा नगरपालिकाले पहिलो पटक बज्जिका महोत्सव २०८१ को आयोजना गर्ने भएको छ। नगरपालिकाको स्थापना दिवसको अवसर पारेर स्थानीय मातृभाषा प्रवद्र्धन गर्ने उद्देश्यले मलंगवा नगरपालिकाले आगामी फागुन १७ गते आयोजना गर्न लागिएको यो महोत्सवले स्थानीय मातृभाषा बज्जिकाको प्रवर्द्धनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ।
महोत्सवको आयोजना मलंगवा नगरपालिकाले बज्जिका साहित्य समाज सर्लाहीसँगको सहकार्यमा गर्ने भएको हो।
बज्जिका महोत्सव आयोजना हुने खबरले स्थानीय साहित्यकार, भाषासेवी तथा सञ्चारकर्मीहरूमा उत्साह बढाएको छ। कार्यक्रमले बज्जिका भाषा र संस्कृतिलाई नयाँ पहिचान दिने विश्वास गरिएको छ।
नगर प्रमुख नागेन्द्र प्रसाद यादवको नेतृत्वमा ऐतिहासिक रूपमा बज्जिका महोत्सव आयोजना गरिन लागेकाले बज्जिका भाषा, साहित्य र संस्कृति जगेर्नामा यो कोशेढुंगा सावित हुने विश्वास गरिएको छ। बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र कुशवाहाले यो महोत्सव बज्जिका भाषाको इतिहासमा ऐतिहासिक दिनका रूपमा अंकित हुने बताएका छन्।
महोत्सव सफल बनाउन कार्यदल र सल्लाहकार समिति गठन भइसकेको बज्जिका साहित्य समाजका सचिव तथा साहित्यकार मुकेश मिश्रले बताए ।
कार्यदलकाे संयोजकमा बज्जिका साहित्य समाजका संस्थापक अध्यक्ष रामचन्द्र महतो कुशवाहा चयन भएकाेछ भने सदस्य सचिवमा नगरपालिकाका फोकल पर्सन मुकेशकुमार मिश्र, सदस्यमा नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका नगिना राय, सदस्यमा पूर्व प्रधानाध्यापक जयरुद्र मिश्र, सदस्यमा नेपाल सरकारका पूर्व अधिकृत सुरेन्द्रलाल कर्ण, सदस्यमा बज्जिका साहित्य समाजका सहसचिव विनिता साह, सदस्यमा वर्षा एफएमका सञ्चारकर्मी कृष्णा सिंह र सदस्यमा बज्जिका साहित्य समाजका उपाध्यक्ष शैलियादेवी ठाकुर रहेका छन् ।
सल्लाहकार समितिको संयोजकमा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्रप्रसाद यादव रहेका छन्। समितिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, कवि राजेन्द्र ठाकुर, स्वास्थ्य संयोजक सलिम मिकरानी र सञ्चारकर्मी मनोज यादव सदस्यहरू रहेका छन् ।

