सर्लाही, फागुन १ – भूमि सम्बन्धी अध्यादेशको विरोध गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले सरकारमा बसेर सरकारकै नीति-विरुद्ध जानु नैतिक रूपमा अनुचित भएको भन्दै चाँडै बैठक बसेर सरकारबाट अलग हुने निर्णय गरिने बताए।
सर्लाहीको मलंगवामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ठाकुरले आफ्नै सरकारको निर्णयको विरोध गर्नु नैतिक संकटको विषय भएको बताए। उनले पार्टीबाट सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिन तयार रहन पनि निर्देशन दिएका छन्।

भूमिसम्बन्धी अध्यादेश सरकारले ल्याउन लागेकाे प्रति लोसपाले बिज्ञप्ती जारी गर्दै असन्तुष्ट पाेखेका थिए । अध्यक्ष ठाकुरले गठबन्धनको बैठकमै अध्यादेशको विरोध गरिएको तर सरकारले लोसपालाई छलफलमा नबोलाएको गुनासो समेत गरे।
“अध्यादेश अस्वीकार गर्नु सरकार गिराउन होइन, तर यसले सरकारमाथि नैतिक संकट ल्याएको छ। हामी पनि नैतिक रूपमा संकटमा छौँ,” ठाकुरले भने।

लोसपाको निर्णयपछि सरकारको सत्ता समीकरणमा असर पर्न सक्ने आँकलन गरिएको छ। अब लोसपा सरकारमा रहने वा पूर्ण रूपमा बाहिरिने भन्नेबारे चाँडै पार्टीले निर्णय लिने बताइएको छ।

