Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रपतिसँग दुई घण्टा

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
राष्ट्रपतिसँग दुई घण्टा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

केही निजात्मक अनुभूतिसहित सुरु हुन गयो राष्ट्रपति विद्यादेवी भण्डारी र यो पंक्तिकारबीचको संवाद ।

उनले आफ्नो स्वास्थ्यबारे सोधिएको प्रश्नलाई अलिक फैलाएर उत्तर दिइन्, ‘महिलाको उर्वर समय ४० देखि ७० वर्षको उमेरसम्म हुँदोरहेछ ।’ समाज मनोविज्ञानको आँखाबाट हेर्दा यो जवाफ एउटी ६१ वर्षीया महिलाले ३६ वर्षे पुरुषसँग बोलेको वाक्य पनि थियो ।

राष्ट्रपति भण्डारीमाथिको ताजा ट्रोल चार दिनअघि साझा यातायात चढेर पाटनढोका जाँदाको प्रसंगसँग सम्बन्धित छ । पिर्कामाथि टेकेर बस चढेको भन्दै आम–आक्रोश झेलेकी राष्ट्रपतिलाई भेटको सुरुमै उनको व्यक्तिगत स्वास्थ्यबारे सोधिनु मनासिब नै हुन्थ्यो ।

१३ वर्षअघि ब्लड क्यान्सरको उपचार गर्ने क्रममा केमोथेरापी दिंदा भण्डारीको कम्मरको हड्डी मक्कियो । क्यान्सरमुक्त भएपछि दिल्लीस्थित एपोलो हस्पिटलमा उनको कम्मरमा स्टिल राखेर ‘बाइल्याटरल हिप रिप्लेसमेन्ट’ गरियो ।

त्यसयता उनले १० इन्चभन्दा माथिको खुट्किलो उक्लिन मिल्दैन । उनकै घरमा राखिएको काठको पिर्का बोकेर सहयोगीले विभिन्न ठाउँमा पुर्‍याइदिन्छन् ।

‘अहिले कस्तो छ त यहाँलाई ?’

उनले उत्तरमै प्रश्न सोधिन्, ‘कस्ती देखिन्छु ?’

‘ताजा र उर्जाशील देखिनुहुन्छ ।’

उनी मुसुक्क हाँसिन् । शब्दै नझारी एकछिन चुप बसिन् । पञ्चायतको बेलामा विराटनगरको डेरामा दुई छोरी जन्माउँदाका दुःखसुख कहिन् । पति मदन भण्डारी तत्कालीन नेकपा (माले) नेताका रुपमा भूमिगत हुँदा आफूले एक्लै कोशी अञ्चल अस्पताल अगाडिको डेरामा बच्चा हुर्काउँदा घरधनी र अरुबाट बेहोरेका भुक्तमानको सम्झना गरिन् ।

‘महिला भएपछि २४–२५ वर्षको हुँदासम्म पढिसक्नुपर्ने हुँदोरहेछ । त्यसपछि बिहेबारी, बच्चा जन्माई–हुर्काई गर्दा आठ–दश वर्ष बितिहाल्छ’ दहचोकस्थित कालु पाण्डेको सालिकमा माला लगाएर फर्केकी राष्ट्रपति भण्डारीले शीतलनिवासको सैपाल कक्षमा बुधबार अपराह्न सुनाइन्, ‘पुरुषले घरायसी काम, बच्चा हुकाई नगर्ने होइन गर्छन् । तर महिलाको बराबर त्यो कत्ति पनि होइन ।’

भण्डारीले महिलाको शारीरिक र मानसिक स्वास्थ्यबारे आफ्ना बुझाइ सुनाइन् । महिलाको योगदानलाई परिवारले कसरी बुझ्न सक्नुपर्छ, उनीमाथि राज्यको दायित्व कस्तो हुनुपर्छ भन्नेबारे आफ्ना विचार राखिन् ।

‘तपाईं त मेरा छोरीहरुभन्दा कान्छो हुनुहुँदोरहेछ । बिहे गर्नुभएको छ ?’

मैले भएकै तथ्य राखिदिएँ । उनले भनिन्, ‘उसो भए तपाईंलाई पनि थाहै होला ।’

पत्रकारलाई प्रश्न सोध्नभन्दा जवाफ दिन कठिन । त्यसैले हामी घर–परिवारभन्दा सजिलो विषयमा प्रवेश गर्‍यौं । नेपालको सन्दर्भमा त्यो सजिलो विषय हो– राजनीति । तपाईं जुनसुकै प्रदेश र जिल्लाको गाउँमा पुगेर जो कसैलाई सोध्नुस् । मानिसहरु नेपालको राजनीतिबारे अविराम १० मिनेट कम्तीमा बोल्न सक्छन् ।

राष्ट्रपति भण्डारी आफ्नो सात वर्षे कार्यकालको उत्तरार्धमा छिन् । म उनकै दृष्टिबाट जान्न चाहन्थें– आफ्नो कार्यकाललाई । अनि नयाँ प्रधानमन्त्री चयनसँगै बदलिंदो पछिल्लो परिघटनालाई ।

‘जे–जति उतारचढाव थियो, अघिल्ला राष्ट्रपतिको कार्यकालमा भइगयो, मैले मेरो कार्यकालचाहिं आरामले जान्छ जस्तो ठानेकी थिएँ’ उनले स्वमूल्यांकन गरिन्, ‘तर त्यस्तो कहाँ हुनु ! झन् के के भयो के के ।’

२०७२ को संविधान जारी भएको अर्को महिना राष्ट्रपति चुनिएकी थिइन् भण्डारी । मधेश आन्दोलन र नाकाबन्दी चलिरहेको थियो । उनको समेत प्रयासमा भारतसँग संवाद भएको थियो । नेपाली सेनाका उच्च अधिकारीहरु त्यसमा सामेल थिए ।

२०७२ माघ अन्तिम साता नाकाबन्दी खुल्यो । तर राजनीतिक उतारचढाव रोकिएन । २०७३ असारमा तत्कालीन केपी ओली नेतृत्वको सरकार ढलेसँगै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने । २०७४ को चुनाव नहुँदासम्म प्रचण्ड–देउवा आलोपालो चल्यो । वाम गठबन्धन बनेसँगै २०७४ को चुनावपछि गठित संसद र प्रदेश सभाका सदस्यहरुले राष्ट्रपतिमा फेरि उनै भण्डारीको अनुमोदन गरे ।

‘मैले एउटा के देखें भने, कम्युनिस्ट विचारको व्यक्ति महत्वपूर्ण जिम्मेवारीमा जाँदा र डेमोक्रेट खेमाको व्यक्ति त्यस पदमा जाँदा विचार निर्माणकर्ता समुदायको हेर्ने दृष्टि अलिक फरक हुने रहेछ । मसँग त त्यस्तो विचार बनाउने समूह पनि थिएन’, भण्डारीले अनुभूति सुनाइन् । मैले विवेचनात्मक उत्तर माग गरें । उनी सचेत भइहालिन् । यत्ति फुत्काइन्, ‘तपाईंले कुरा बुझिसक्नु भो ।’

कम्युनिस्टहरुले सधैं कांग्रेससँग सहकार्य गरेर राष्ट्रका ठूला समस्याहरु सल्टाउन चाहे पनि कांग्रेसले सधैं अनुदार व्यवहार गरेको अनुभव कतिपयले सुनाउने गरेको उनले बताइन् । ‘वामपन्थीहरुले लोकतन्त्र स्थापनाका लागि अरुभन्दा कम होइन, बढी योगदान गरेका छन्’, उनले भनिन् ।

पत्रकारितामा कसले के भन्यो भन्ने टिप्पणीलाई जति ध्यान दिइन्छ, त्योभन्दा बढ्ता उसले के गर्‍यो भन्ने कुरा पनि सँगै आउँछ ।

‘राजाले गल्ती गर्दैनन्’ भन्ने मान्यता तोड्दै राजतन्त्रका राष्ट्रप्रमुखहरुले लक्ष्मणरेखा मिचेका दृष्टान्त इतिहासमा पढेका छौं हामीले । गणतन्त्रका दुवै राष्ट्रपतिसँग राजाले भन्दा कम गल्तीको अपेक्षा राख्नु स्वाभाविक थियो । यद्यपि इतिहास डा. रामवरण यादव झैं भण्डारीबारे पनि उति उदारमना भने हुने छैन ।

यादवलाई कार्यकारी प्रधानमन्त्रीले प्रधान सेनापतिबारे गरेको निर्णय रोकेको, संवैधानिक मान्यताभन्दा बाहिर गएर खिलराज रेग्मी र लोकमानसिंह कार्की नियुक्त गरेको जस्ता खतबात लागेका थिए ।

भण्डारीउपर संविधान कुल्चेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपल्ट संसद विघटन सिफारिस गर्दा विनाप्रश्न अनुमोदन गरेको, सार्वभौम संसदले अनुमोदन गरेको नागरिकता विधेयक रोकिदिएको जस्ता सवाल उठिराख्ने छन् ।

संविधानले राष्ट्रपतिसँग सुरुमै संविधानको संरक्षक र पालक हुने अपेक्षा राखेको छ । यादवले विगतमा आफूले चालेको अतिरिक्त कदमहरुको प्रतिरक्षा गरेझैं भण्डारीले पनि संविधानको संरक्षणभन्दा माथि राष्ट्रको संरक्षण प्राथमिक हुने तर्क गरिन् ।

त्यसो भन्नुको अर्थ संविधानको संरक्षक/पालकले स्थापित विधि मिच्न पाइन्छ भन्ने हो त ?

‘यहाँ विभिन्न खालका खेल गर्ने कोसिस भइरहन्छन्, त्यस्ता कुरालाई रोक्नेबारे ध्यान दिनुपर्छ’, उनले प्रष्टीकरण दिइन् । त्यो खेल कसले, कहिले, कसरी गर्‍यो भन्नेबारे उनीबाट सबै जान्न सम्भव भएन ।

यस्ता केही प्रश्नहरु– जसको जवाफ सम्भवतः कार्यकाल सकिएपछि उनले खुलस्त देलिन् भन्ने अपेक्षा छ । नेपालका सार्वजनिक व्यक्तिहरु पद लिंदैनन्, ‘पदभार ग्रहण’ गर्छन् । पदसँगै ‘गोपनीयता’ को शपथ लिन्छन् ।

आजै बिहान अनलाइनखबरसँग कुरा गर्ने क्रममा सीके लालले भनेका थिए, ‘नेपालमा हिजोआज प्रतिगमन हुँदैन, बरु नेताहरु एउटै वृत्तमा घुमिरहन्छन् ।’

ओलीको विघटनलाई प्रतिगमन भन्ने प्रचण्ड उनैको अग्रगामी समर्थनमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान बन्न पुगेका छन् । अस्तिसम्म कसैले विश्वास नगर्ने प्रचण्डलाई आज एकाएक सबैले विश्वासको मत दिएका छन् ।

यसबारे राष्ट्रपतिलाई के लागिरहेको होला ?

सबै कुरा बुझ्न त ‘गोपनीयताको शपथ’ ले दिने कुरै भएन । तर एउटा वाक्य उनले सुनाइन्, ‘के हुन्छ, के के । यहाँ (शीतलनिवासमा) बसेर पनि सप्पै थाहा नहुँदोरहेछ । ओलीजीको समर्थनमा प्रचण्ड आफूलाई प्रधानमन्त्री नियुक्ति माग्न आउनुहोला भन्ने पत्यार लागेकै थिएन ।’

तीन साता नबित्दै पत्यार नलाग्ने अरु घटना हुँदै गए । सबैभन्दा रोचक दृश्य त्यस बेला देखियो, जब प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा नै ‘प्रमुख सत्तापक्ष’ बनेर दौरा मिलाउँदै संसदमा आइपुगे ।

अरु बेला देउवासँग राय बझाउने शेखर कोइरालासमेत उनैको पाइला पछ्याउँदै बानेश्वर हल छिरे । गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित पाँच सांसदको फरक मत पार्टी ह्वीपमा समेटियो ।

राष्ट्रपति भण्डारीले यी सबै दृश्यलाई याद गरेकी रहिछन् । आगामी दिनहरु सोचेजति सहज ढंगले नजान सक्ने उनको आकलन छ । तर यसमा उनको थप विश्लेषण सुन्न पाइएन ।

ओली र प्रचण्डबीच विगतमा बिग्रेको सम्बन्ध सुधार्न, त्यसमा माधव नेपालसमेतलाई समेट्न शीतलनिवास सक्रिय रहेका सूचना हामीलाई मिल्ने गर्थे । भण्डारीले खुलेर ‘हो’ भनिनन्, तर ‘होइन’ पनि भनिनन् । अहिले एमाले–माओवादीको मिल्ती छ । के फेरि यी दलबीच पार्टी एकता होला ? कि उनीहरु निश्चित दूरीमै सहज ठान्लान् ?

माओवादी उच्च नेताहरु भण्डारीले सहजीकरण र पहल लिने भए एमालेसँग पुनः एकता प्रक्रिया अघि बढ्न सक्ने संकेत दिने गर्छन् । तीन महिनाअघि माओवादी अध्यक्ष प्रचण्डसँग खुमलटार निवासमा यो पंक्तिकारले सोध्दा उनले यस्तै इंगित गरेका थिए । भण्डारीसँग आफूले ‘कम्फर्टेबल’ ठान्ने गरेको उनको आशय थियो ।

भण्डारीले आवश्यकता महसुस भए आफू राजनीतिक सक्रियतामा आउने संकेत गरिन् । तर त्यो कुन स्वरुपको सक्रियता हुनेछ भन्नेबारे केही खुलाइनन् । उनले विगतमा अघि बढाएको मदन भण्डारी फाउन्डेशन सम्भवतः अझै बढी भूमिकासहित आउन सक्छ ।

यस्ता विभिन्न संस्था निर्माण गरेर आफू बढीभन्दा बढी सामाजिक काम, तल्लो वर्गको हित, जलवायु अनुकूलन अनि शिक्षा, स्वास्थ्य सामाजिक न्यायमा अझै बढी काम गर्ने उनको अठोट छ ।

गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपतिको कार्यकाल आगामी फागुनमा सकिनेछ । नेतृत्वमा वर्ग, क्षेत्र झल्किंदो रहेछ । प्रथम राष्ट्रपति रामवरण यादवले आफू जन्मिहुर्की गरेको मधेशलाई जोगाउन चुरेको संरक्षणमा विशेष ध्यान दिए ।

दोस्रो राष्ट्रपतिको ध्यान महिला र बालिकाहरुमा छ । उनको प्रयासमा सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालयहरुको शैक्षिक गुणस्तर र भौतिक निर्माण, प्रयोगशाला, कम्प्युटर ल्याबहरुका लागि सोझै अनुदान दिइन्छ ।

महिनावारी हुने छात्राहरुका लागि स्यानिटरी प्याड वितरण लगायत महिला स्वास्थ्यका विषय समेटिएका छन् । राष्ट्रपति उत्थान कार्यक्रममा दुर्गम क्षेत्रमा प्रस्रव पीडा झेल्न कठिन परेका सुत्केरीहरुलाई हेलिकप्टरमार्फत इमर्जेन्सी उपचार गरिन्छ । यसमा नेपाली सेनाले समन्वय गर्छ ।

एमालेका कतिपय कार्यकर्ताहरु अब भण्डारी फेरि सक्रिय राजनीतिमा आउनुपर्ने ठान्छन् । अरु राजनीतिमा पुस्तान्तरण माग हुँदै गरेका बेला स्वयं राष्ट्राध्यक्ष भइसकेको व्यक्तिलाई सक्रिय पार्टी राजनीतिमा तान्ने माग गर्नु आफैंमा कति उचित होला, यसबारे ती पार्टीपंक्ति मात्रै नभई उनै भण्डारीसमेतले सोच्नुपर्ने हुन्छ । ‘भविष्यमा मैले के गर्ने हो भन्नेबारे सबैसँग सल्लाह लिन्छु’ उनले भनिन् ‘हेरौं न, अहिले के भन्न सकिन्छ र !’

ठन्डा दिमागले सोच्न राष्ट्रपतिसँग दुई महिना बाँकी छ । उर्बर समय बिताउन यी ६१ वर्षीया महिलालाई आफैंले तोकेको ९ वर्ष बाँकी छ ।

Previous Post

अमेरिकाको आन्तरिक उडान पुनः सुरु

Next Post

पृथ्वी जयन्तीको बधाई थापिरहेका राजेन्द्र लिङ्देन

Next Post
पृथ्वी जयन्तीको बधाई थापिरहेका राजेन्द्र लिङ्देन

पृथ्वी जयन्तीको बधाई थापिरहेका राजेन्द्र लिङ्देन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.