सर्लाही, माघ ९ – सौर्य अनलाइन खबरका प्रधान सम्पादक विपेन्द्र कुमार साहमाथि शुक्रबार मलंगवा स्थित मालपोत कार्यालयभित्रै सांघातिक हमला भएको छ। यो घटनाले प्रेस स्वतन्त्रता तथा कानूनको पालना प्रति गम्भीर प्रश्न खडा गरेकाे छ ।
सर्लाहीको पर्सा गाउँपालिका वडा नं. २ निवासी राजकपुर मण्डलले करिब १०-१५ जनाको समूह लिएर पत्रकार साहलाई कार्यालय प्रमुखकै कार्यकक्षबाट हातपात गर्दै बाहिर लगेका थिए। साहका अनुसार, मण्डलसँग विगत तीन वर्षदेखि अदालतमा लेनदेन सम्बन्धी विवाद चलिरहेको थियो। उनले मण्डललाई १५ लाख रुपैयाँ दिएका थिए, तर बारम्बार आग्रह गर्दा पनि फिर्ता नदिएकाले बाध्य भएर साहले सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए।
उक्त मुद्दामा पत्रकार साहको पक्षमा फैसला आएपछि जनकपुर अदालतबाट समेत उनको जित भएको थियो। अदालतको आदेश अनुसार बिगो असुल गर्न सर्लाही अदालतमा पुनः मुद्दा दर्ता गरिएको थियो। सोही क्रममा अदालतको आदेशअनुसार मण्डलको दुई कित्ता जग्गा दाखिल-खारिज गराउन पत्रकार साह मलंगवा मालपोत कार्यालय पुगेका थिए। तर, त्यहीँ मण्डल समूहले योजनाबद्ध रूपमा हमला गरेको पीडित पत्रकार साहले बताएका छन्।
मालपोत कार्यालयका प्रमुखसहित कर्मचारी, लेखनदास तथा अन्य सेवाग्राहीहरूको सामु नै खुलेआम भएको यस घटनाले प्रेस स्वतन्त्रताको अवस्थालाई थप कमजोर बनाएको छ। सार्वजनिक स्थलमै पत्रकारमाथि हिंसा हुनु प्रेस स्वतन्त्रताको घोर उल्लङ्घन भएको नागरिक समाज तथा अधिकारकर्मीहरूले बताएका छन्।
पीडित पत्रकार साहले दोषीउपर कडा कानूनी कारबाहीको माग गरेका छन्। पत्रकार संगठन, नागरिक समाज तथा मानव अधिकारकर्मीहरूले यस घटनाको कडा भर्त्सना गरेका छन्। साथै, पत्रकार सुरक्षाका लागि प्रभावकारी कानूनी कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।
यस घटनापछि कानून कार्यान्वयन निकायहरू दबाबमा परेका छन्। प्रहरी प्रशासन तथा सरकारी अधिकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु जरुरी छ। यदि यस्तो घटनालाई हल्का रूपमा लिइयो भने, पत्रकार तथा नागरिकहरूको सुरक्षा खतरामा पर्नेछ।
सार्वजनिक स्थलमा पत्रकारमाथि भएको यस आक्रमणले प्रेस स्वतन्त्रताको रक्षा तथा न्याय प्रणालीको विश्वसनीयता कायम राख्न सरकारको तत्परता कत्तिको प्रभावकारी छ भन्ने कुरा उजागर गर्नेछ।

