कतार/ फाल्गुण ९/– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा पटक–पटक भएका जनआन्दोलन, जनसंघर्ष र मधेश जनविद्रोहका कारण सत्ता परिवर्तन भए तापनि शासन प्रणालीमा परिवर्तन आउन नसक्नु मुलुककै ठूलो दुर्भाग्य भएको बताएका छन्।
कतारमा सक्रिय नेपालीहरूको संगठन नेपाली समाज कतार द्वारा आयोजित सम्मान तथा हाेली शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपाली शासन प्रणालीमा पुरातन मानसिकता कायमै रहेको धारणा व्यक्त गरे। उनले भने, “ जहानीयाँ शासनबाट एकदलीय पंचायती व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थासम्म आइपुग्दा पनि शासकहरूको सोचमा परिवर्तन देखिएको छैन। पटक–पटक आन्दोलनकै बलमा सत्ता परिवर्तन भए पनि अग्र मोर्चामा रहेर संघर्ष गर्ने शोषित, पीडित, उपेक्षित, दमित, मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित आदिले अझै शासनमा निर्णायक भूमिका पाउन सकेका छैनन्, जुन दुःखद पक्ष हो।”
यादवका अनुसार आन्दोलनकारी, पहिचानवादी तथा अधिकारको लडाइँ लड्नेहरू नै शासन प्रणाली बाहिर रहनु नेपालको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, र सांस्कृतिक अवस्थाको सुधार नहुनुमा मुख्य कारण बनेको छ। उनले थपे, “मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, सीमान्तकृत समुदाय र महिलाहरूलाई उनीहरूको संविधान प्रदत्त अधिकार, अवसर, अस्तित्व र पहिचानबाट बञ्चित गरिएसम्म मुलुकमा वास्तविक परिवर्तनको प्रत्याभूति असम्भव छ।”

यादवले पछिल्लो समय केपी ओली नेतृत्वको सरकारले भूमि अध्यादेश ल्याएर मधेशी, आदिवासी जनजाति लगायतका समुदायलाई आफनै भूमिमा अल्पमतमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। उनले भने, “यस षड्यन्त्रलाई रोक्न हामी सबै एकजुट हुन आवश्यक छ। यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै संकटमा पार्न सक्छ।”
कार्यक्रममा विभिन्न क्षेत्रका नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिहरूले मधेश आन्दोलन तथा नेपालमा समानता र समावेशिताका लागि यादवको भूमिकाको सराहना गरेका थिए।


