मलंगवा, सर्लाही/ सर्लाहीका उखु किसानहरूले आफूहरूलाई बाँकी रहेको अनुदान रकम तत्काल उपलब्ध नगराए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। आइतबार उखु उत्पादक संघ सर्लाहीको नेतृत्वमा किसानहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारसँग चाँडोभन्दा चाँडो बक्यौता अनुदान उपलब्ध गराउन माग गरेका हुन्।


ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठमार्फत बुझाइएको हो। संघका अनुसार सरकारले विगतमा गरेको प्रतिबद्धता अनुसार उखुको प्रतिक्विन्टल ३५ रुपैयाँका दरले दिइने भनिएको अनुदान रकम अझै किसानले पाउन सकेका छैनन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकार मौन बसिरहेको संघको गुनासो छ।

संघले आगामी साउन २० गते दिउँसो ३ बजे महालक्ष्मी चीनी उद्योग गेट अगाडि विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। सो अवसरमा टायर बालेर प्रदर्शन गरिने र हजारौं किसानको उपस्थिति रहने जनाइएको छ।
संघले सबै उखु किसानहरूलाई विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ। “हामीले अब धैर्य गर्न सक्ने अवस्था छैन। सरकारले वाचा पुरा नगरे किसान बाध्य भएर सडकमा उत्रनुपर्नेछ,” एक किसानको भनाइ छ।
सरकारले समयमै ध्यान नदिए आन्दोलनको स्वरूप थप चर्को हुने संघको चेतावनी छ।

