सर्लाही – नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव नेपालभरका प्रहरी कर्मचारीमध्ये आर्थिक वर्ष २०८१/८२ को ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छिन्।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित तथ्यपत्र सार्वजनिकीकरण तथा पुरस्कार वितरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले असई यादवलाई नगद ४० हजार रुपैयाँसहित प्रशंसा-पत्र प्रदान गर्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।
इलाका प्रहरी कार्यालय गरुडा (राैतहट) मा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा खटिएकी असई यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै लैंगिक हिंसा न्यूनीकरण र लैंगिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उल्लेखनीय योगदान पु¥याएको आधारमा यो सम्मान प्राप्त गरेकी हुन्।
यसै कार्यक्रममा द्वितीय हुने प्रहरी जवान शान्ता खत्री (जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, दरबन्दी प्रहरी चौकी बालकोट, अर्घाखाँची) लाई ३० हजार र तृतीय हुने प्रहरी हवल्दार उमा तामाङ (जिल्ला प्रहरी कार्यालय सिन्धुली) लाई २० हजार रुपैयाँ नगदसहित प्रशंसा-पत्र प्रदान गरियो।
त्यस्तै, प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र प्रहरी सहायक निरीक्षक साजना प्रसाईंलाई जनही १० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
महिला तथा बालबालिका सेवा निर्देशनालयद्वारा गठित उत्कृष्ट प्रहरी कर्मचारी छनोट समितिले देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरीहरूको कार्यसम्पादन मूल्यांकन गरी यी नाम सिफारिस गरेको थियो।
यो सम्मानले लैंगिक हिंसा न्यूनीकरण र पीडितमैत्री प्रहरी सेवामा खटिएका महिला प्रहरीहरूको मनोबल उच्च भएको नेपाल प्रहरीले जनाएको छ।

