काठमाडौं, माघ १० — राजेन्द्र महतो नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरू पार्टी परित्याग गरेका छन् ।
आज जारी गरिएको संयुक्त विज्ञप्तिमार्फत दलगत संकीर्णता, अवसरवाद र व्यक्तिकेन्द्रित राजनीतिले मुलुक र जनतालाई निराशातर्फ धकेलेको आरोप लगाउँदै उनीहरूले पार्टी छोड्ने घोषणा गरेका हुन्। विज्ञप्तिमा वर्तमान अवस्थामा पार्टीगत आवरणभन्दा माथि उठी देश, जनता, विधिको शासन र वृहत्तर लोकतान्त्रिक राजनीतिक एकताको आवश्यकता अपरिहार्य रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार यथास्थितिवादी, विभाजनकारी तथा जनआकांक्षाविरोधी राजनीतिबाट अलग हुँदै देशको सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिने नयाँ राजनीतिक यात्राको सुरुआत गरिनेछ। उक्त नयाँ राजनीतिक यात्रालाई केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी पनि दिइएको छ।
पार्टी परित्याग गर्नेमा केन्द्रीय सचिव संजय कुमार चौधरी, केन्द्रीय अनुशासन विभागका अध्यक्ष संजय कुमार सिंह, केन्द्रीय सदस्यहरू बिजय कुमार राय, अशोक ठाकुर, संजय गाडिया, नितु यादव पासवान, राम चन्द्र साहलगायत रहेका छन्। त्यस्तै राष्ट्रिय परिषद सदस्य राजा राम कापर, शास्त्रीय परिषद सदस्य बिजय नायक, समानुपातिक उम्मेदवार पुनम यादव र गुलो देवी पासमान तथा केन्द्रीय नेता सरगुन पासमानसमेत संयुक्त रूपमा पार्टी छोड्ने निर्णयमा सहभागी छन्।
राजनीतिक वृत्तमा यस घटनालाई मधेस केन्द्रित राजनीतिमा नयाँ पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ।

