सर्लाही, फाल्गुण — सर्लाही निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णा सनातनीको चुनावी र्याली तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। “अबकी बार हिन्दू सरकार, हिन्दू राष्ट्र स्थापनाको लागि” भन्ने नारासहित आयोजित कार्यक्रममा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
र्यालीका क्रममा “हिन्दू–हिन्दू भाई–भाई”, “जात–पातको कराे विदाई” लगायतका नारा लगाइएको थियो। उम्मेदवार सनातनीले आफू विजयी भए धर्म–संस्कृति संरक्षण र हिन्दू राष्ट्र स्थापनाका विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले युवाहरूलाई एकजुट भई देश र संस्कृतिको संरक्षणमा लाग्न आह्वान गर्नुभयो।
कार्यक्रमका क्रममा हिन्दू सम्राट सेनाको तर्फबाट कौडेना गाउँपालिका–१ लक्ष्मीपुर निवासी मनोज गिरीकी छोरीको विवाहका लागि खाद्यान्न सामग्री सहयोग प्रदान गरिएको जनाइएको छ। उक्त सहयोग शिवनाथ यादवको विशेष पहलमा उपलब्ध गराइएको आयोजक पक्षले जनाएको छ।
घरदैलो अभियानअन्तर्गत उम्मेदवार सनातनीले विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै समर्थनको अपिल गर्नुभएको थियो। स्थानीय तहमा विकास, सांस्कृतिक पहिचानको संरक्षण र युवाको सक्रिय भूमिकालाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

