सर्लाही, साउन १४ – सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–६ स्थित कामद टोलमा मङ्गलबार दिउँसो एक पुरानो पक्की घर भत्किँदा एक बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार नविन सिंहको दुई तल्ले पुरानो पक्की घर अचानक भत्किँदा सोही घरको आँगनमा खेलिरहेको ६ वर्षीय अरुण माझीको घटनास्थलमै किचिएर मृत्यु भएको हो। मृतक गौतम माझीका छोरा हुन्।

स्थानीयवासीले अन्य मानिस पनि किचिएको हुन सक्ने आशंका व्यक्त गरेपछि खोज तथा उद्धारका लागि प्रहरी चौकी नाढिमन सर्लाहीबाट ४ जनाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा जेसीबी सहितको टोली घटनास्थलमा खटिएको छ।
प्रहरी टोलीले भत्किएको संरचना हटाउँदै उद्धार कार्य जारी राखेको जनाएको छ। घटनास्थल प्रहरी चौकी नाढिमनबाट झण्डै ४ किलोमिटर दक्षिणमा पर्ने जानकारी दिइएको छ।

