सर्लाही, साउन १४ – सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत तालमा मंगलबार दिउँसो एक अज्ञात युवतीको शव तैरिएको अवस्थामा फेला परेको छ।
दिउँसो करिब १२ बजे तालमा शव देखिएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुभाष यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले डुङ्गाको सहायताले शवलाई तालबाट बाहिर निकालेर पूर्व पट्टिको किनारमा राखेको जनाएको छ।
शवको प्रारम्भिक विवरण अनुसार अन्दाजी २१/२२ वर्षको तराई मूलकी जस्तो देखिने युवती रहेकी छिन्। उनी निलो जिन्स पाइन्ट, हरियो कुर्ता लगाएकी थिइन् भने हातमा रातो बाला समेत लगाएकी थिइन्। हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक (प्र.नि.) चन्द्र कान्त अधिकारीको नेतृत्वमा फरेन्सिक टोली (SOCO) सहितको प्रहरी समूह घटनास्थलमा खटिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय कर्मैयाबाट करिब ३ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ।
शव पहिचान र घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

