काठमाडौं, साउन ११
जनता समाजवादी पार्टी,नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई मजबुत बनाउन संगठन सुदृढीकरण, प्रशिक्षण, नेतृत्व विकास र चुनावी तयारीमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
आईतबार केन्द्रीय पार्टी कार्यालय बालकुमारीमा सम्पन्न केन्द्रीय विभाग तथा जनवर्गीय संगठन प्रमुखहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हालको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
“निर्वाचनमा आफ्ना कार्यक्षमताहरूलाई थप विकसित गर्नु आवश्यक छ। जनता माझ मुद्दा पुर्याउन सशक्त संगठन निर्माण अपरिहार्य छ,” अध्यक्ष यादवले बताए।
उनले मधेश प्रदेशमा पार्टीको सशक्त उपस्थिति र सघन सक्रियता उल्लेख गर्दै त्यसलाई अझ व्यापक बनाउँदै लैजानु पर्नेमा जोड दिए। अध्यक्ष यादवले आगामी निर्वाचनलाई दृष्टिगत गर्दै प्रत्येक तहका नेता–कार्यकर्तालाई तयारीमा जुट्न आह्वान समेत गरे।
बैठकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकासका पहल, जनसम्पर्क विस्तार, जनवर्गीय संगठनहरूको भूमिका बिषयमा पनि गम्भीर छलफल भएको पार्टी स्रोतले जनाएको छ।

