चन्द्रनगर (सर्लाही), साउन ९ —
चन्द्रनगर गाउँपालिका वडा नं. ५ अन्तर्गत मोहनपुर बस्तीमा खानेपानीको चरम अभाव भएको छ। यहाँ रहेका अधिकांश स्यालो ट्युबेलहरू सुकिसकेका छन् भने बासिन्दा खानेपानीका लागि ठूलो सास्ती भोगिरहेका छन्।
स्थानीय नाजिर मंसुरका अनुसार अधिकांश घरका ट्युबेलहरू सुकेका छन्। “पानी लिनका लागि मानिसहरूलाई बीस मिनेटसम्म हिँडेर सिचाइ भइरहेका बोर्डिङ ट्युबेलसम्म जानुपर्छ,” मंसुरले बताए, “त्यहाँ पनि लामो लाइन लाग्ने भएकोले समस्या झन् जटिल भएको छ।”
त्यही टोलकी विद्यार्थी रौशन खातुनले पानीकै कारण विद्यालय जान समेत समस्या भएको गुनासो गरिन्। “हामी छोरी मान्छे, पढाइसँगै घरको काम पनि गर्नुपर्छ। बिहान उठेर पानी लिन जानुपर्ने, लाइन लाग्नुपर्ने, अनि फर्केर खाना पकाएर विद्यालय पुग्दा ढिलो हुन्छ। ढिलो भयो भनेर शिक्षकले पिट्नुहुन्छ,” उनले भनिन्।
अर्की छात्रा सुधा महतोले पनि यही समस्या दोहोर्याउँदै भनिन्, “पूरै टोल पानीको समस्याले हैरान छ। स्थानीय सरकार तत्काल समाधानतर्फ लाग्नुपर्छ।”
किसान रामबाबु महतोले गाईवस्तुहरूलाई पनि पानी खुवाउन मुस्किल भएको बताए। “खानलाई त हामी बाहिरबाट ल्याएर पानी पिउँछौं तर गाईबस्तुलाई कहाँबाट खुवाउने? वडा अध्यक्षलाई भनेको थियौं, उहाँले भने बजेट सकिएको छ, अबको छ महिनापछि मात्रै केही गर्न सकिन्छ भने,” उनले दुःखेसो पोखे।
यसै सन्दर्भमा वडाध्यक्ष सूर्य वंश रायले मोहनपुरलगायत केही ठाउँमा पानी समस्या रहेको स्वीकार गरेका छन्। “हालै मात्रै आ.व. सुरू भएकोले अधिकार र बजेट आउन बाँकी छ। धेरै ठाउँमा समस्या समाधान भइसकेको छ, मोहनपुरको समस्यासमेत पालिकामार्फत समाधान गर्न पहल गरिरहेका छौं,” उनले भने।
स्थानीयवासीहरू तत्काल राहतको अपेक्षामा छन्, तर समस्या समाधान कहिले र कसरी हुन्छ भन्नेमा अन्योल कायमै छ।

