सर्लाही — २०८२ साउन २१ / सर्लाही जिल्लाको बलरा नगरपालिका–१ स्थित छन्कीटोला क्षेत्रमा रक्सी सेवन सम्बन्धी विवादले उग्र रूप लिँदै छुरा प्रहारको घटनामा तीन जना घाइते भएका छन्।
गत साउन २१ गते राति करिब ९ बजे दुई समूहबीच रक्सी सेवनका विषयलाई लिएर भनाभन हुँदै झगडा भई झडप भएको थियो। सो क्रममा एक समूहले अर्का समूहमाथि छुरा प्रहार गरी तीन जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
घाइते हुनेहरूमा बलरा–१ निवासी जगरनाथ सहनीका २५ वर्षीय छोरा धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी (श्री सहनीका छोरा) र २५ वर्षीय अमित मण्डल (धनपत मण्डलका छोरा) रहेका छन्।
धर्मवीर सहनीको पेटमा गम्भीर चोट लागेको र उनलाई बलरा स्थित धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
दशरथ सहनीको घाँटीमा र अमित मण्डलको दाहिने हातमा सामान्य चोट लागेको बताइएको छ। हाल सबै घाइतेहरू उपचारपश्चात डिस्चार्ज भई घरमै आराम गरिरहेका छन्।
छुरा प्रहार गर्ने आरोपीहरू भारतीय नागरिक अमन सिंह, विकास सिंह, अटल राय र अभिषेक सिंह रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरू हाल फरार रहेका छन्।
घटनापछि प्रहरी चौकी छन्कीटोलाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेर उद्धार कार्य सम्पन्न गरेको थियो भने ईलाका प्रहरी कार्यालय गडहिया र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट क्रमशः प्रहरी निरीक्षक उज्वल कार्की र अशोक आले मगरको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीले हाल फरार अभियुक्तहरूलाई खोजी कार्य तीव्र बनाएको जनाएको छ।
प्रहरी अनुसार, घटना स्थल बलरा बजारदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ पर्छ।

