सर्लाही, २०८२ साउन १८ गते, आइतबार —
जनता समाजवादी पार्टी (जसपा) , मधेश प्रदेशका अध्यक्ष तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादवमाथि लगाइएको झुठा र राजनीतिक पूर्वाग्राही मुद्दाको विरोधमा आज सर्लाहीमा पत्रकार सम्मेलनकाे आयोजना गरिएको छ।
जसपा जिल्ला कार्यसमितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा पार्टी नेताहरुले यादवमाथि लगाइएको मुद्दालाई बद्नियतपूर्ण र प्रतिशोधात्मक भनेका छन्। उनीहरूले राजनीतिक प्रतिद्वन्द्वितालाई व्यक्तिगत आक्रमणमा रूपान्तरण गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र मान्यतामा गम्भीर आघात पुग्ने चेतावनी दिएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै जसपा सर्लाहीका नेताहरूले भने, “अशोक यादवज्यू मधेश आन्दोलनका अग्रपंक्तिका नेता हुनुहुन्छ। उहाँको योगदानलाई बदनाम गर्न नियोजित ढंगले झुटा मुद्दा लगाइएको छ। यसप्रकारको कार्यले राजनीतिक वातावरणलाई विषाक्त बनाउने खतरा छ।”
सम्मेलनमा बाेल्दै मधेश प्रदेश अध्यक्ष यादवले आफू निर्दाेष रहेकाे बताउदै पहिला प्रहरी अधिकारीबाट गालिगलाैचकाे शुरूवात भएकाे भन्दै आफुले साे काे प्रतिकार मात्र गरेकाे बताए ।
उनले आफुलाई झुठा मुद्दामा फसाउन खाेजिएकाे भन्दै
तत्काल मुद्दा खारेज गरीनु पर्नेमा जाेड दिए।
अध्यक्ष यादवले आफू दाेषि भए कानुन अनुसार सजाए भाेग्न तयार रहेकाे बताउदै गालिगलाैच गर्ने प्रहरी अधिकारीलाई तत्काल छानबिनकाे दायरा ल्याई निश्पक्ष छानबिन गर्नु पर्ने माग समेत उठाए ।
प्रदेश अध्यक्ष यादवले यदि शक्तिकाे दम्भ र राजनीतिक प्रतिशोधकाे आधारमा दमन गर्न खाेजिए त्यसकाे प्रतिकार गर्न पार्टी सदैव अग्रसर रहने चेतावनी समेत दिए ।
जिल्ला कार्यसमितिले मुलुकभरका सबै प्रजातान्त्रिक शक्तिहरूलाई एकजुट भई यस्तो नियोजित षड्यन्त्रको विरुद्ध आवाज उठाउन आह्वान गरेको छ। साथै, यादवप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक परे चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ।

