सर्लाही, ब्रह्मपुरी — साउन ११
सर्लाहीको ब्रहमपुरी गाउँपालिका–७ मोहनजंगस्थित सडकमा सोमबार दिउँसो एक स्कुल बसको चक्काले च्यापिँदा एक ५ वर्षीया छात्राको मृत्यु भएको छ।
मृत्यु हुने बालिका ब्रह्मपुरी गाउँपालिका–७ निवासी रमेश महतोकी छोरी आशिका महतो रहेको सर्लाही प्रहरीले जनाएको छ।
उक्त बालिका ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत थिइन्।
प्रहरीका अनुसार उनी विद्यालयबाट घर फर्किने क्रममा बसबाट झर्ने बेलामा बसको पछाडिको चक्काले च्यापिएर गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी बालिकालाई तत्कालै उपचारका लागि जीवन नारायण अस्पताल बयलबास लगिएको थियो। तर, उपचारकै क्रममा दिउँसो ४ बजेर ४० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
बालिकाको शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

