मलंगवा, सर्लाही, २०८२ साउन १८ गते –तराई–मधेश क्षेत्रमा विगत केही महिनादेखिको सुख्खा संकटका बीच जनता समाजवादी पार्टी, नेपाल (जसपा) सर्लाहीले प्रधानमन्त्री के.पि.शर्मा ओलीलाई लक्षित गर्दै गम्भीर ध्यानाकर्षण गराउँदै ११ बुँदे मागपत्र पेश गरेको छ। मागपत्र जिल्ला प्रशासन कार्यालय, सर्लाही मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पठाइएको हाे ।
तराई–मधेशका जिल्लाहरूमा लामो समयदेखि वर्षा नहुदाँ सिचाँईको अभावसँगै मल खाद्यको चरम कमी रहेकाे मागपत्रमा भनिएकाेछ । जसपा नेपालले बुझाएकाे माग पत्रलाई वाचन गर्दै जसपा नेपाल सर्लाहीका संयाेजक बिजय यादवले आम जनताफाई पिउने पानीको विकराल संकटले किसान र सर्वसाधारणको जीवन अत्यन्तै कष्टकर बन्दै गएको छ। जसपाले प्रदेश र संघीय सरकार दुवैको “सुख्खाग्रस्त घोषणा”लाई मात्र आश्वासनको रूपमा सीमित भएको भन्दै तत्काल राहत प्याकेज सहितको कार्यान्वयनको माग गरेको छ।


जसपाले बुझाएकाे ज्ञापनपत्रमा सुख्खाग्रस्त क्षेत्रहरूमा तत्काल सिचाँईको व्यवस्था गरियोस्। किसानहरूलाई कृषि ऋणमा छुटको व्यवस्था गरियोस्। मल खाद्यको न्यायसंगत वितरण गरियोस्। वीरगंजसहित मधेशका शहरी–ग्रामीण क्षेत्रमा खानेपानीको आपूर्ति सुनिश्चित गरियोस्। चुरे संरक्षणसहित दीर्घकालीन जलाशय परियोजना अगाडि बढाइयोस्। बोरिङ जडानका सूचना सरल बनाइ सवै पालिकालाई समेटियोस्। नदी, नाला, कुलो, इनार, पोखरी पुनर्निर्माण गरी सतही सिचाँई विस्तार गरियोस्।

कृषि ऋण र उपकरणमा सहुलियत तथा अनुदान उपलब्ध गराइयोस्। चुरे दोहन रोक्न गिट्टी–बालुवा निकासी तथा अवैध उद्योग बन्द गरियोस्। अधुरा सिचाँई आयोजना तथा कृषि विद्युतीकरण तुरुन्त कार्यान्वयन गरियोस्। ३०० बढी अधुरा ओभरहेड ट्यांकी योजनाहरू सम्पन्न गरी खानेपानी आपूर्ति तत्काल सुनिश्चित गरियोस् जस्ता मागहरू समेटिएकाे छ ।
संयोजक विजय कुमार यादवले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा चेतावनी दिइएको छ कि – “यदि यस्तो समयमा जनतालाई राहत पुर्याउने कार्य गरिएन भने हामी चुप लागेर बस्न सक्ने अवस्था रहने छैन।”
जसपाले सुख्खा संकटलाई लिएर जनस्तरको आन्दोलनको संकेतसमेत गरेको छ। ज्ञापनपत्रमार्फत तत्काल नीति, बजेट र ठोस कार्यक्रम ल्याउन माग गर्दै सरकारले किसान र जनतालाई केन्द्रमा राखी काम गर्नुपर्ने उल्लेख गरिएको छ।

